उम्मेदवार परिचयः एमालेबाट पोखरा हाँक्न कस्सिएका थापाको राजनीतिक यात्रा

काठमाडाैं | बैशाख १३, २०७९

उम्मेदवार परिचयः एमालेबाट पोखरा हाँक्न कस्सिएका थापाको राजनीतिक यात्रा


पोखराः कृष्ण थापा (कृष्णबहादुर थापा) जन्मेको सालसम्म मुलुकमा प्रजातान्त्रिक व्यवस्था विद्यमान थियो । त्यसको एक वर्षपछि हो देशमा निर्दलीय पञ्चायती व्यवस्थाको सुत्रपात भएको । अर्थात् थापाको जन्म २०१६ साल हो ।

 

कास्कीको बाटुलेचौरमा जन्मिएका थापाले ०४१ सालमा कम्युनिस्ट पार्टीको सदस्यता लिएका थिए । त्यसो त राजनीतितर्फको आकर्षण ०३६ सालको विद्यार्थी आन्दोलनबाटै सुरु भएको हो । त्यो त्यही आन्दोलन थियो, जसले मुलुकमा पहिलोपटक बहूदल र निर्दलको छनौट गर्न जनमत संग्रह नै गर्नुपरेको थियो । 

 

२०३५–०३६ सालको विद्यार्थी आन्दोलनबाट उनी राजनीतितर्फ तानिएका थिए । २०३७ सालमा अनेरास्ववियु पृथ्वीनारायण क्याम्पस कमिटीको सदस्य भएपछि उनको राजनीतिक यात्रा सुरु भएको हो । २०३९ देखि एक वर्ष चिकित्सा शास्त्र अध्ययन संस्थान, सुर्खेतको स्ववियु सहसचिव भएका थिए । 

 

२०४०मा अखिल नेपाल चिकित्सा सहायक संघको संस्थापक सचिव भएका थापा २०४१ सालमा पृथ्वीनारायण क्याम्पसको स्ववियुमा सदस्य निर्वाचित भएका थिए । २०४१ साल २९ भदौमा तत्कालीन नेकपा (माले)बाट कम्युनिस्ट पार्टीको सदस्यता लिएका थिए । २०४१ सालमा अनेरास्ववियु कास्कीको छैठौं जिल्ला कमिटीको अधिवेशनबाट जिल्ला कमिटी अध्यक्ष चुनिए ।

 

२०४३ को जनपक्षीय चुनाव परिचालन कमिटीको संयोजकको जिम्मा उनले सम्हालेका थिए । थापा २०४३ मंसिरदेखि २०४६ पुससम्म जेल जीवन बिताए । तत्कालीन पञ्चायत राजकाज मुद्धामा पोखरा, दमौली र गोरखा गरी २९ महिना जेल जीवन बिताएका थिए । 

 

उनी २०४६ सालको जन–आन्दोलनमा वाममोर्चा गण्डकीको सदस्य भए । २०४६ सालदेखि दुई वर्ष अनेरास्ववियु केन्द्रीय कमिटी सदस्य बने । २०४९ सालमा नेकपा एमाले जिल्ला कमिटी कास्कीको सचिवालय सदस्य बनेका उनी २०५२ सालमा नेकपा एमालेको प्रथम नगर अधिवेशनबाट सचिव निर्वाचित भएका थिए । त्यसको दुई वर्षपछि अर्थात् ०५४ सालमा भएको चुनावमा उनी तत्कालीन पोखरा उपमहानगरपालिकाको मेयर भए । 

 

२०६५ सालमा नेकपा एमाले कास्कीको सचिव भएका थापा २०७० सालमा नवौं कास्की जिल्ला कमिटीको अधिवेशनबाट अध्यक्ष निर्वाचित भए । थापा २०५१ सालमा उपत्यका नगर विकासको अध्यक्ष, २०७१ मा राष्ट्रिय ताल समिती सदस्य भएका थिए । २०५५–०७३ सम्म नेपाल नगरपालिका संघको केन्द्रीय सचिवालय सदस्य भएका काम गरेका थिए ।

 

२०७४ सालको प्रदेश सभा निर्वाचनमा थापा कास्की २ (क)बाट निर्वाचित भएका थिए । उनले नेपाली कांग्रेसका गुरुप्रसाद बराललाई ७ हजार ४ मतले हराएका थिए । थापाले १५ हजार ३२९ मत पाउँदा बरालले ८ हजार ३२५ मत ल्याएका थिए । 

 

शिक्षामा स्नातक गरेका थापा स्वास्थ्यका पनि विद्यार्थी हुन् । थापाले चिकित्साशास्त्र विज्ञान संस्थान, सुर्खेतबाट सिएमए (कम्युनिटी मेडिकल असिस्टेन्ट) पढाइ पुरा गरेका छन् ।

 

महानगरको मेयरमा उम्मेदवारी दर्ता गराएपछि थापाले सार्वजनिकरुपमा यसपटकको निर्वाचननै आफ्नो लागि अन्तिम भएको बताउँदै भोटको अपील गरेका छन् । 

पर्यटन व्यवसायी कर्ण शाक्यले पोखरा लेकसाइडमा सञ्चालित आफ्नो होटलले फेवातालको जग्गा नमिचेको दाबी गरेका छन् ।   शनिबार महानगरपालिकाले आफनो होटलको संरचना भत्काएपछि प्रष्टीकरण दिंदै शाक्यले होटलले कुनै ...

थप पढ्नुहोस्

कास्की जिल्लाको मिजुरेडाँडा आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ ।   राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ८ः३४ मिनेट जाँदा कास्की जिल्लाको मिजुरेडाँडा आसपास केन्द्रविन्दु...

थप पढ्नुहोस्

पोखरा ।   नेपाल चेम्बर अफ कमर्सको हीरक जयन्तीको अवसरमा पोखरामा अन्तर्राष्ट्रिय व्यवसाय अनुभव सम्बन्धी अन्तरक्रिया सम्पन्न भएको छ ।    चेम्बर अफ कमर्सका सदस्य व्यवसायीहरूलाई अन्तर्राष्ट्रिय बजार...

थप पढ्नुहोस्